के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Nepal:The Quake

रिपोर्टिङ गर्दा गर्दै दोलखाको सिंगाटीमा केन्द्रबिन्दु भएर गएको भुकम्पको लाईभ हेर्न नभुल्नुहोस् । बेलायतको स्काई न्यूजले नेपालको भूकम्पका विषयमा तयार पारेको यो स्पेशल रिपोर्ट

Friday, September 30, 2016

दसैँको पूर्वसन्ध्यामा पशुबलि निषेध सचेतना र्याली

फोटो फिचर हेर्नका लागि यस लिंकमा जानुहोस्
नेपालमा धर्म, संस्कृति र परम्पराको आडमा देवी देवतालाई खुसी पार्न भन्दै पशुबलि दिने गरिन्छ । पशुलाई निर्मम तरिकाले हत्या गर्ने यो प्रथामको अन्त्यका लागि आवाज नउठेको हैन । तर, रोक्न सकिएको छैन ।
नेपालमा सबैभन्दा बढी बलि गढीमाईको मेलामा दिइन्छ । त्यसपछि दशैंमा राक्षसी प्रवृत्तिको अन्त्य भन्दै पशुबलि दिइन्छ । दशैंमा राक्षसी प्रवृत्तिको अन्त्य भनेको मान्छेमा भएको कुविचार, कुसंस्कारको बलि दिनुपर्छ भन्ने हो तर, यहाँ उल्टो भैरहेको छ ।
“अरूको प्राण लिएर पुण्य कमाउने काम मन पर्दैन । जीव हत्या गरेर आफ्नो मनोकामना पूरा गर्नु धर्म होइन ।” पशुबलिलाई पाप सम्झने पाँचखाल काभ्रेकी मीरा चौलागाईंको भनाइ हो यो ।
प्राणीको हत्या गरेर धर्म हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकामा उहाँलाई निकै दुःख लाग्छ । मन्दिर मन्दिरमा जीव हत्या गर्ने प्रचलन हटेको कहिले सुन्न पाइएला भन्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ । उहाँले अहिलेसम्म जीव हत्या गरेको हेर्नु भएको छैन । हेर्न पनि सक्नु हुन्न ।
पशुबलि धर्मका चल्दैआएको कुप्रथा रहेको बताउनुहुन्छ सोह्रखुट्टे, काठमाडौँकी रिता तिमल्सिना । “राम्रो भविष्य, दीर्घायुको कामना, राम्रो शिक्षादीक्षा, सफल जीवनका कामना गर्न मन्दिरमा रगतको बलि चढाउनु त पाप हो नि ।” – उहाँले भन्नुभयो । आफूले अहिलेसम्म कुनै जीवको बलि मन्दिरमा नचढाएको पनि उहाँले सुनाउनुभयो ।
नेपालमा बडादशैंको नौरथा सुरु भएपछि विभिन्न शक्तिपीठमा दुर्गा मातालाई खुसी पार्न व्यापक रुपमा पशुबलि दिइन्छ तर योे प्रचलनको अहिंसावादीहरुले चर्को विरोध गर्दैआएका छन् । उनीहरुको भनाइमा ‘पशुबलि धर्मका नाममा अपराध हो’ र ‘अहिंसा नै परम धर्म’ हो ।
बलि दिनै परेमा पशुबलीको सट्टामा भगवतीलाई नरिवलको बलि चढाउन सकिने उनीहरुको तर्क छ । दसैँ पर्वका अवसरमा खास गरी दक्षिणकाली, भद्रकाली, गुह्येश्वरी, शोभा भगवतीलगायतका शक्तिपीठमा हजाराँै जीवको बलि दिने गरिन्छ ।
संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठ, मन्दिरमा नवरथामा हजारौँ प्राणीको बलि दिने गरिएकामा अहिले नगण्य रुपमा मात्रै छ र धेरैले नरिवलको बलि दिने गरेका छन् । “पशुलाई भगवतीका शक्तिपीठमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो,” बलिप्रथा रोक्ने अभियानका अभियन्ता डा टन्डनले भन्नुभयो, “अरूलाई दुःखकष्ट नदिनु नै धर्म हो, बलि दिएर देवी–देवता कहिल्यै खुसी हुँदैनन् ।”
उहाँका अनुसार कुनै पनि धर्म ग्रन्थमा पशुबलि दिएर धर्म हुने कुरा उल्लेख छैन । यो प्रचलनले समाजमा शान्ति नभई हिंसा र आतङ्क फैलाइरहेको छ । राजसी, तामसीमा रमाउने पण्डितहरुले पशुबलिलाई बढावा दिने तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको डा टन्डनकोे आरोप छ । उहाँ भन्नुहुन्छ – दसैँमा क्रोधको प्रतीक भनेर राँँगोलाई बलि दिन्छन् । निर्दोष पशु राँगोलाई मारेर के धर्म हुनु ? मानिसलाई दशैं पशुलाई दशा हुने गरेको छ । जीव भएर जीवको हत्या गर्नु पाप हो ।
पशुबलि निषेध सचेतना अभियानका संयोजक विवेक श्रेष्ठले पशुबलि धर्म नभएको कुरालाई सचेतना र्याली, साहित्य, सडक नाटक, गीतमार्फतजस्ता सचेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो । “धेरै वर्षदेखि पशुबलि दिँदै आएर त्यसले सांस्कृतिक मान्यता पायो, तर त्यो अज्ञानता थियोे, २१औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पशुबलि दिएर धर्म हुन सक्दैन”– उहाँले थप्नुभयो ।
मासु खानेहरुलाई मुटु रोग, मोटोपना, फोक्सोको रोग, रक्तचापजस्ता ठूला रोगले मनोवैज्ञानिक÷मानसिक रोग निम्त्याउँछ । मासु सेवन नगर्ने मानिस निरोगी, शान्त स्वभावका हुन्छन् । त्यसैले पशुबलिलाई प्रोत्साहन दिनु हुँदैन भन्ने यो अभियानका अभियन्ताहरुको भनाइ छ ।
पशुबलि निषेध अभियान २०४७ सालदेखि सुरु भएको हो । यो अवधिमा समाजलाई फर्केर हेर्दा धेरै परिवर्तन भएको छ । पहिला पशुबलिलाई धर्म सम्झनेले आज पाप सम्झन थालेका छन् । यस अभियानमा नेवार, क्षेत्री, बाह्मण, गुरुङ सबै लागेका छन् । त्यसमा कृष्णप्रणामी, नेपाल मानव धर्मलगायत एक दर्जनभन्दा बढी धार्मिक सङ्घसंस्था पनि यो अभियानमा सामेल छन् ।

नेपालमा शाकाहारीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभए पनि कुल जनङ्ख्याको २५ देखि ३० प्रतिशत मानिस शाकाहारी रहेको अनुमान छ ।
फोटो फिचरको लागि यहाँ जानुहोस् ।

Saturday, September 24, 2016

डाक्टरले 'घरमा बसेर मृत्यु कुर' भनेपछि सन्ध्याले गगनलाई यस्तो पत्र लेखिन्


माननीय स्वास्थ्यमन्त्री
गगन थापाज्यू

नमस्कार।

खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पूर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन ,मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म। तर, म त्यसदिन खुब रोए। धुरूधुरू रोए। नरोएर के गरू म। मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि। त्यो कुरा शब्दमा कसरी लेखु म। बस रूने बाहेक मसँग केही थिएन उपाय। र अहिले पनि छैन।

मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के–के रहरहरू थिए। तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो। त्यसपछि म अबको पुग नपुग तीन महिना बाँच्छु अरे। यो कुराले हर रात। हर दिन मेरो मुटु घोचेको घोच्यै छ। म धेरै के पो बोल्न सक्छु र?
माननीय मन्त्री, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु। साच्चि त्यस दिन मेरा सारा आफ्त कसरी रोलान। कति भक्कानिएलान्। म कल्पनै गर्न सक्दिँन। मुख्य कुरा आफुले खाइनखाई यो उन्नाईस वर्षसम्म हुर्काउने मेरो बाआमा कति रोलान्। उनीहरुलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउँलान्। मैले सोचिरहेकी छु।
मलाई थाहा छ। म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मिए। हुर्के। जहाँ अनगिन्ती दुःखहरू छन्। अभावहरू छन्। जुन दुःख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुःखहरू पाइरहेका हुन्छन्। जस्तो कि म जब क्यान्सर रोगी भए। त्यसपछि आफैले अनुभव गरे। दुर्गम हर नागरिकका लागि कति पीडादायीक भुगोल रहेछ भनेर। अनि जब आफू बाँच्नका लागि हर मानिससँग आलाप विलाप गर्न थाले। बुझे मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर। जे होस् मैले अनुभव गरेका कुरा सत्य छन्। र त त्यही कुराको प्रेरणाले आज तपाईँलाई मेरो मृत्युबारे जानकारी गराउन लागिरहेको छु। अनि यो पत्र सकिनसकि लेखिरहेको छु। कृपया मलार्इँ माफ गर्नुस् है।
मैले सानैदेखि तपार्इँको बारे सुनेको छु। तपाईँको बारे पढेको छु। तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदा हुन यो देशमा। तर नचिने पनि तपार्इँलाई नजिकको जस्तो लाग्यो। सम्झे तपाईँले कुरो बुझ्नु हुन्छ मेरो। अनि यो चिठी लेखेकी हुँ। खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएकी हुँ यसै पत्रबाट।
मलाईँ थाहा छ। म मेरै मृत्यु मर्न लागेको छु । तर, यति सानो उमेरमा म मर्न लागे। त्यस कुराले म साह्रै दुःखी छु। माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मे। यही देशमा हुर्के। जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो। तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जाँदा हस्पिटलले कति माया गर्छ? कति सम्मान गर्छन्? तपाईँलाई याद होला। अनुभव होला। तर मलाईँ त त्यस्तो कुराको अनुभवै भएन। यादै भएन। र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेकी छु।
खासमा मैले धेरै दुःख पाएँ। धेरै आपत खेपे। पाएको दुःख सम्झिँदा लाग्छ। म यो देशको नागरिक हैन जस्तो। मेरो आँखाले कति हो कति बेथितिहरू देखे। त्यो बेथितिको सिकार म पनि भएँ। र, सम्झे बेथितिहरूले म जस्ता अरू अरु पनि दिनदिनै मरिरहेका होलान्। अनि मनमनै सम्झेर तपाईँलाई जानकारी गराउन मन लाग्यो। चिठी लेखिरहेकी छु।
हुन त म एक दिन मर्ने नै थिएँ। तर, केही समय चाँडै मर्ने भए। यसैले म दुःखी त छु भन्नै पर्यो। हो, म दुःखी छु अनि म मर्नु पहिले तपार्इँलाई भेटेर केही कुरा गर्न चाहन्छु। खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ? बुझेर मर्न चाहन्छु।
माननीय मन्त्रीज्यू। हुन त म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र। तर, म मर्ने पक्का भए पछि किन हो देशको हो या आफ्नो खुब माया लागिरहेको छ। किन हो खै। मैले देखेका बेथितिहरू प्रति मेरो मनमा धेरै घृणा छ। लाग्छ म अब त केही दिनपछि मर्छु पनि होला। तर, मैले मेरो उपचार गर्दा पाएको दुःख हजुरलाई सबै भन्न चाहन्छु। न कि म जस्ता यो देशका नागरिकले म जस्तो दुःख नपाउन। पीडा नपाउन। बेथितिको सिकारले मृत्यु नपाउन।
तपार्इँलाई मेरा धेरै कुराहरू भन्नुछ। जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिँन। भन्न सक्दिँन। घाउ पनि दुखेर बढिरहेको छ। पीडाले मुटु कापिरहेको छ। म योभन्दा बढि लेख्न सकिनँ। कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुरसँग सबै कुरा भन्ने समय पाउँ। सक्नु हुन्न भने यो काम चाहिं गरिदिनुहोला। देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्तहोस्। लापरबाहीले एक वर्षपछि मर्ने नागरिक एक वर्ष अघि न मरोस्। नमस्कार।
सन्ध्या शाही, जुम्ला
हाल–काठमाडाैं

कागले लगेको भाषाको कान

(नेपाली भाषामा भैरहेको विवादित विषयमा युग पाठकको आलेख)
युग पाठक
---------------------------------------
केही हप्तायता ‘नेपाली भाषा बचाऔँ अभियान–०७२’का नाममा छापिएको एउटा फ्लेक्स बोर्डले हल्लीखल्ली मच्चाएको छ । फ्लेक्समा ‘राष्ट्रिय विभूति गौतम बुद्ध कि रास्ट्रिय बिभुति गउतम् बुद्ध ?’ जस्ता तीन तुलनात्मक उदाहरण दिइएका छन् । र, गुहार लगाइएको छ– लौ न, भाषा भत्काएर गल्र्यामगुर्लुम ढाल्न लागे ।

त्यसो त शरदचन्द्र वस्तीको नेतृत्वमा ‘भाषा बचाऊ’ अभियान चल्न लागेको ०६८ सालदेखि नै हो । वेलावेला वस्ती आफौ र उनका समर्थकले प्राडाहरूले भाषा बिगारेको आरोप लगाएर लेख्ने/बोल्ने गरिआएकै हुन् । तर, अचानक यो विवादले आमसञ्चार तताएको चाहिँ माथि उल्लेखित फ्लेक्स बोर्ड सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि हो । 

के परिमार्जित भनिएको हिज्जेको नियमले उक्त फ्लेक्स बोर्डमा भएकै जस्तो सबै अक्षरलाई छुट्याएर लेख्ने प्रस्ताव गरेको हो त ? वास्तवमा यो कथित् भाषा विवाद के हो ? यो रचनात्मक बहस हो कि नाक ताकेर औंलो उज्याउने विवाद ? यतातिर पनि बहस गर्नु आवश्यक देखिएको छ ।

बहस कि जिद्दी ? 
अहिले चलेको विवाद भाषालाई लोकतान्त्रिक र रचनात्मक बनाउने बहस होइन, भाषा विवाद पनि होइन, फगत हिज्जेको विवाद हो । यस्ता विवाद इतिहासमा पटक–पटक चल्दै आइरहेका छन् । पचास वर्षदेखि खासखास शब्दलाई ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भनेर विवाद गरिएको छ र यो विवाद टुंगोमा पुग्ने कुनै छाँट छैन । पटक–पटक भाषाविद्हरू गोष्ठीमा जुट्छन् र विवादलाई बल्झाएर फर्कन्छन् । 

विवादको पछिल्लो एपिसोड नेपाल प्रज्ञा प्रतिष्ठानले ०६७ मा आयोजना गरेको ‘नेपाली भाषा संगोष्ठी’को हिज्जे परिमार्जन गर्ने निर्णयपछि सुरु भएको हो भनिएको छ । यो गोष्ठीमा सहभागीमध्येकै एक भाषाविद् शरदचन्द्र वस्तीको अगुवाइमा अर्को वर्ष त्यो निर्णयविरुद्ध ‘ललितपुर घोषणापत्र’ जारी भयो । अहिले आएर सुधारवादी खेमाका प्रा. हेमाङ्ग राज अधिकारीविरुद्ध अख्तियारमा उजुरी हालिएको छ भने परिमार्जनको निर्णय तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । 

भाषाको सार्वजनिक बहसका नाममा केही शब्दका हिज्जे यस्तो शुद्ध कि उस्तो शुद्ध भनेर ढिपी गरिएको छ । यस्तो महसुस हुन्छ कि भाषामा आफ्नो वर्चस्व कायम गर्न चाहने गुटैपिच्छेको जिद्दी चलिरहेछ । १९९१ सालमा ‘नेपाली भाषा प्रकाशिनी समिति’ले छापेको ‘नेपाली कसरी शुद्ध लेख्ने’ भन्ने पुस्तिकामा जे नियम छापिएको छ, त्यही हुनुपर्छ, त्यसमा टसका मस पार्न हुँदैन भन्ने वस्ती समूहको जिद्दी छ । वस्ती समूहकै सदस्य केदार शर्माका अनुसार ‘नेकशुले ०६९’ त्यही पुरानो नियमको नयाँ संस्करण मात्र हो । यो भाष्यका अनुसार सुधारवादीले बनाएको नयाँ नियमले नेपाली भाषा भत्काएर ध्वस्त बनाइसक्यो । उता सुधारवादीहरूको दाबी छ– हिज्जेका केही नियम फेरेर सजिलो र बोलीचालीको उच्चारणसँग नजिक हुने गरी सुधार गरिएको हो । 

भाषा भनेको केवल शब्द होइन र भाषाको विकास हुनु वा नहुनु हिज्जेको एकाधिकारको विषय होइन । कुनै पनि शब्दले अर्थ निर्माण गर्दा बोलिएको संकथनको सन्दर्भ, वाक्यले बोक्ने समय सन्दर्भ तथा सामाजिक–सांस्कृतिक व्यवस्थालगायत अनेक सन्दर्भलाई एकैचोटि तानेर ल्याइराखेको हुन्छ । त्यसैले फूल र फुल लेख्दा अर्थमा फरक पर्छ भनेर जिद्दी गर्ने वेला के ख्याल राख्नुपर्छ भने जनजीवनमा कुखुराले ‘फुल’ पार्न छाडिसक्यो र ‘अन्डा’को व्यापार फस्टाइसक्यो । जनजीवनले अप्ठ्याराहरू आफौ फुकाउँदै जान्छ, भाषाविद्को शुद्ध नियम पढेर ह्रस्व फुल खोज्न कोही बजार जाँदैन । 

यद्यपि लेख्य भाषामा अधिकतम् एकरूपता हुनु भाषाको आवश्यकता हो । तर, अहिले चलेको विवाद भने भाषाको राजनीतिसँग बढी सम्बन्धित छ भन्ने तथ्य क्रमश: उजागर हुँदै छ । यसको सबैभन्दा टड्कारो उदाहरण हो व्यापक प्रचारमा ल्याइएको फ्लेक्स । फ्लेक्सले भन्छ– ‘प्रधानमन्त्री कि प्रधान् मन्त्रि ?’, ‘गौतम कि गउतम् ?’ । कथित् सुधारिएको हिज्जेको नियमले के शब्दहरूलाई यसैगरी फुटाउँछ त ? भएभरका जम्मै संयुक्त अक्षरलाई टुक्रा गरेर लेख्ने नियम बनाइएको हो त ? 

प्रा. हेमाङ्ग राज अधिकारीका अनुसार त्यसो कसैले कहिल्यै भनेको छैन । यिनै अधिकारी अहिले भाषा बिगारेको आरोप खेपिरहेका छन् । अधिकारीकै संयोजकत्वमा आयोजित गोष्ठीले नयाँ नियम पारित गरेको थियो । उनको कुरा सुन्ने हो भने द्द, द्य, क्त, द्व जस्ता केही संयुक्त अक्षरलाई छुट्याएर हलन्त गर्ने भनिएको हो, त्यो पनि विद्यार्थीको सिकाइलाई सजिलो पार्न । फ्लेक्समा भएको जस्तो प्रधानमन्त्रीको प्र र त्र, तथा ज्ञ, क्ष लगायतलाई टुक्र्याउने भनेको होइन । स्पष्ट कुराचाहिँ के भने फ्लेक्समा भएको जस्तो आधा अक्षर (न्) र मात्रा (गौतमको गौ लाई ौ हटाएर गउ) समेत छुट्याएर अलग्गै लेख्ने भनेर कसैले भनेको छैन । 

वस्तीको तर्क छ– केही संयुक्त अक्षर मात्र टुक्र्याउने कुरा सुन्दा सजिलो छ, तर नियम नै बनाइसकेपछि भोलि गएर सबै संयुक्त अक्षर टुक्रा गर्ने सम्भावना हुन्छ । यो आशंका जायज हो, तर आशंका मात्र । प्रश्न उठ्छ– सुधारिएको हिज्जेले सबै संयुक्त अक्षर छुट्याउँछ, सबै आधा अक्षरलाई हलन्त गर्छ, मात्रा पनि छुट्याउँछ भन्ने वस्ती समूहले पनि मानेको हो कि होइन ? सम्भावनालाई तर्क गर्न सकिन्छ तर तथ्य बनाएर प्रचार गर्न पाइँदैन । फ्लेक्समा दिइएको उदाहरणले भने तथ्यसंगत तर्क गर्दैन, केवल झुटमा टेकेर जिद्दी मात्रै गर्छ ।

Friday, September 9, 2016

नेपालका चर्चित लेखकका पुस्तकको कभर ‘चोरी’ गरेर बनाईएको खुलासा (प्रमाणसहित)

बौद्धिक चोरीको सवाल पछिल्लो समय निकै उठ्छन् । खासगरि अर्काको बौद्धिक कामको चोरी गरेर जस आफुले लिने प्रचलनलाई बौद्धिक चोरीको संज्ञा दिईन्छ । कुनै काम गर्नका लागि एउटा मानिसले त्यससँग सम्बन्धित रहेर धेरै अनुसन्धान गर्नुपर्ने हुन्छ । र, यसरी अनुसन्धानबाट निस्किएको कुनै प्रतिफलको ‘जस’, जसले दुख गरेको हो उसले पाउनुपर्छ । तर कसैले मरिमेटेर दुख गर्ने तर ठिक त्यहि कुरालाई नक्कल गरेर जस आफुले लिने गरेका धेरै उदाहरणहरु पछिल्लो समय भेटिन्छन् ।
खासगरि बौद्धिक चोरीको सवालमा फिल्म उद्योग अगाडि छ । नेपाली फिल्मको पोस्टर मेकिङमा बौद्धिक चोरी प्रस्ट झल्किन्छ । र, नेपाली पोस्टर डिजाईनरहरु यो सवालबाट धेरै चोटी घेरिईसकेका छन् । हुन त यस्तो खाले बौद्धिक चोरी बलिउड र हलिउडमा पनि नहुने चाँहि होईन । बौद्धिक चोरीको सवाल धेरै कुरामा जोडिन्छ । बौद्धिक चोरीलाई अँग्रेजीमा ‘प्लागियारिज्म’ भनिन्छ ।
पछिल्लो समय नेपालमा निकै चर्चा कमाएका केहि उपन्यास तथा पुस्तकहरुको कभर डिजाईन पनि चोरेर राखेको पाईएको छ । यसलाई जानकारहरुले ‘बौद्धिक चोरी’ भनेर चर्चा गरिसकेका छन् । बुद्धिसागरको कर्णाली ब्लुजदेखि पछिल्लो पटक कुमार नगरकोटीले लेखेको मिस्टिका सम्मका केहि नेपाली पुस्तकको कभर चोरेको पाईएको छ । हामीले यहाँ प्रमाणसहित पेश गरेका छौँ ।
pustak co (1)
मिस्टिका
मिस्टिका लेखक कुमार नगरकोटीले लेखेको पहिलो उपन्यास हो । फुटकर कथाहरु लेख्दै आएका नगरकोटीले केहि वर्ष अगाडि एउटा कथा सँग्रह बजारमा ल्याएका थिए । त्यसपछि उपन्यास लेखेका नगरकोटीको यो पुस्तक यतिबेला पाठकहरुमाझ चर्चामा छ । यो पुस्तकको कभर ‘माई क्याट नेम लुकाज’सँग ठ्याक्कै मिल्छ । बुक हिल पब्लिकेशनले यो उपन्यास बजारमा ल्याएको हो । यस पुस्तकको कभर डिजाइन गर्नुमा मुख्य भुमिका अर्का लेखक बुद्धिसागरको छ । शुरुमा अर्को डिजाइन फाइनल गरिए पनि पछि बुद्धिसागरले कालो ब्याकग्रउण्डमा बिरालोको तस्विर सतिह कभर फिक्स गरेका थिए ।
pustak co (3)
कर्नाली ब्लुज
बुद्धिसागरले लेखेको यो उपन्यास निकै चर्चित उपन्यास हो । फाईनप्रिन्टले बजारमा ल्याएको यो पुस्तकको कभर पनि ठ्याक्कै अरुसँग मिल्छ । यो उपन्यासले बाबु र छोराको सम्बन्धको बारेमा बोल्छ । यो उपन्यासको कभर कहाँबाट ल्याएर टपक्क यहाँ राखिएको यहाँ फोटो हेर्नुस् ।
pustak co (4)
यायावर
ब्रजेश खनालले लेखेको उपन्यास यायावरको पुस्तकको कभर पनि चोरी भएको देखिन्छ । डोरीमा छाता झुण्डाईएको फोटो भएको यो पुस्तकको डिजाईनमा डिजाईनरले आफ्नो कन्सेप्ट लगाएको देखिँदैन । यो पुस्तकलाई पनि फाईनप्रिन्टले बजारमा ल्याएको हो ।
pustak co (5)
बदलिँदो नेपाली समाज
चैतन्य मिश्रले लेखेको यो पुस्तकको कभर पेज पनि चोरी गरेर राखिएको हो । ओशोको पुस्तक ‘ब्र्रिंगिङ अप चिल्ड्रेन’को कभर पेजसँग दुरुस्तै यसको डिजाईन गरिएको छ । र, यो पुस्तकको डिजाईनमा पनि डिजाईनरको क्रियटिभिटि देखिँदैन । उनले सिधै चोरी गरेको यो फोटोबाटै प्रस्ट हुन्छ ।
pustak co (2)
रिज्वाईस
राजन थपलियाले लेखेको पुस्तक ‘रिज्वाईस’को कभर डिजाईन पनि विदेशी पुस्तकको कभरबाटै सिधै चोरिएको छ । थोमस केम्पिसले लेखेको पुस्तक ‘द ईमिटेसन अफ क्राईस्ट’को कभरसँग थपलियाले लेखेको पुस्तकको कभर दुरुस्तै मिल्छ । र, यो पनि डिजाईनरले आफ्नो तरिकाले डिजाईन गरेका होईनन् ।
mantha nnnn
मान्ठा डराएको जुग
पत्रकार मोहन मैनालीले लेखेको यात्रा कथा ‘मान्ठा डराएको जुग’को कभर पनि अँग्रेजी पुस्तकको कभरसँग ठ्याक्कै मिलेको छ । ‘अ डान्स विद स्याडोज’ नामक पुस्तकको कभर र ‘मान्ठा डराएको जुग’को कभर उस्तै छ ।
साभार: मेनखबर

Sunday, September 4, 2016

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

बामपन्थी बाहुल्य जिल्ला भनेर चिनिने अर्घाखाँचीको तत्कालीन किमडाँडा गाविस–५, अहिलेको सन्धीखर्कमा २०१९ सालमा जन्मिएकी हुन् पम्फा भुसाल ।
कक्षा १ मै ‘स्कुल फस्ट’ बनिन् । उनको क्षमता देखी छिमेकीहरु ‘छोरा जस्तै सिपालु’ भन्थे रे । यस्ता टिप्पणीले भुसाललाई सामाजिक विभेदप्रति विद्रोही बनायो । ८ कक्षा पढ्दै गर्दा भूमिगत सङ्गठन अनेरास्ववियुको सदस्यता लिइन् ।
एसएलसी सकेर काठमाडौं आइन् । पुल्चोक इन्जिनियरिङ, शङ्करदेव हुँदै त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर भइन् ।
राजनीतितर्फ कम्युनिस्ट पार्टी चौथो महाधिवेशन पार्टी सदस्य, एकता केन्द्र मसाल हुँदै माओवादी जनयुद्धमा भूमिगत भइन् । वर्तमान माओवादी केन्द्रकी प्रवक्ता भुसालसँग रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ्ग कुराकानीको सम्पादित अंश :
मेरो खाना
मेरो नियमित खाना दाल–भात–तरकारी । अचेल दाल कमै मात्र खान्छु । दूध र भात चाहिँ असाध्यै मन पर्छ । पहिले मासुका धेरै परिकार खान्थेँ । अचेल मासु खाइहालेँ भने चिकेन मात्रै खान्छु ।
कहिलेकाहीँ आफैँ पकाउँछु पनि । एसएलसीपछि २ वर्ष त नियमित भात पकाउँथेँ । पछि पेइङ गेस्ट बसेँ । त्यसपछि होस्टेल बसेँ । त्यसपछि पकाउने काम अलि कम भयो । जे होस्, सबै परिकार पकाउन आउँछ मलाई । खानैका लागि रेस्टुरेन्ट जाने चलन छैन ।
मेरो पोसाक
जेसुकै भए पनि छरितो पोसाक मन पर्छ मलाई । धेरैजसो प्यान्ट र टिसर्ट लगाउँछु । कपडाको रङ पनि यसको डिजाइन अनुसार हुँदोरहेछ । रातो टिसर्ट मन पर्छ । प्यान्ट चाहिँ निलो ।
कपडा आफैँ किन्ने गरेकी छैन । लन्डनमा बस्छन् बहिनी र भाइ अधिकांश कपडा उनीहरुले नै पठाउँछन् । ज्यादै कम कपडा किनेको छु आफैँले । ब्रान्ड कन्सस छैन म । सिम्पल कपडा मेरो राजाइमा पर्छ । पठाइदिँदा उनीहरुले नै ब्रान्ड रोजिदिन्छन् ।
मेरो फुर्सद
ज्यादै कम फुर्सद हुन्छ । आमा पनि मसँगै हुनुहुन्छ । वृद्ध र ४ वर्षदेखि अशक्त भएर बस्नुभएको छ । समय मिल्यो भने उहाँको हेरचाह गर्नुपर्छ ।
अलिकति बचेको समय आमासँगै बिताउँछु । पत्रपत्रिका, रेडियो र टिभीमा समाचार हेर्ने, सुन्ने गर्छु । विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि अध्ययन गर्छु ।
मेरो घुमफिर
घुमफिर भनेरै गएको छैन कतै । जहाँ गएको छु, राजनीतिक काम विशेषमा मात्रै । केही हिमाली जिल्लाबाहेक अधिकांश जिल्ला पुगेको छु ।
नेपालका हरेक ठाउँ तराई, पहाड र हिमालका आआफ्नै विशेषता छन् र सुन्दरता पनि । एउटा ठाउँसित अर्को ठाउँको सुन्दरता तुलना गर्नै सकिँदैन । सबैको महत्व उस्तै छ । सबै ठाउँ सुन्दर लाग्छ ।
१५/१६ देश घुमेँ । जहाँ गएँ आफैँमा नौलो लाग्यो । रमाइलो र राम्रो ।
घरमा ५ वटा ठूला दराजमा भरिभराउ पुस्तक छन् । दर्शन, राजनीति, अर्थशास्त्रका पुस्तक बढी छन् । साथै माक्र्सवादको समर्थन वा विरोधमा लेखिएका पुस्तक पनि मेरो सङ्कलनमा छन् ।
विभिन्न कारणले पछिल्लो केही महिनायता कुनै पुस्तक सिङ्गै पढ्न पाएको छैन ।

नेपाली चलचित्रहरु